हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना देखाएकाे छ । जसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ । मौसम पूर्वानुमान महाशाखाले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
सडक तथा हवाई यातायातमा खराब मौसमका कारण ढिलाइ हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्ने यात्रुहरूले मौसमसम्बन्धी पूर्वजानकारी लिएर मात्र यात्रा गर्न महाशाखाले सुझाव दिएको छ । साथै, कृषकहरूलाई पनि मौसमको प्रभावबाट बच्न आवश्यक सतर्कता अपनाउन सल्लाह दिइएको छ ।
यसैगरी आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीका बीच मौसम सफा रहने अनुमान गरिएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने अन्य उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पनि हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।