मोरङको कानेपोखरी गाउँपालिकामा १४ वर्षीया सुत्केरी बालिकामाथि आफ्नै ५५ वर्षीय ससुराले जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । घटनापछि प्रतिकार नगरेको भन्दै बालिकामाथि गालीगलौज तथा कुटपिट गर्ने २३ वर्षीय श्रीमान्समेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति ससुराले बालिकामाथि जबरजस्ती करणी गरेका थिए । त्यसपछि घटनाको प्रतिकार नगरेको भन्दै श्रीमान्ले आफ्नी आमासमेत उपस्थित गराएर बालिकामाथि गालीगलौज तथा कुटपिट गरेका थिए ।
श्रीमान्ले आफैँ कुटपिटको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो। भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले मंसिर ९ गते ससुरालाई जबरजस्ती करणीको आरोपमा र श्रीमान्लाई साइबर कसुरमा पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडितको पहिचान सार्वजनिक नगर्न प्रहरीको आग्रह
यस घटनासँग सम्बन्धित पीडित बालिकाको नाम, ठेगाना, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले आग्रह गरेको छ ।
पीडितको गोपनीयता भंग हुने गरी कुनै पनि सामग्री सार्वजनिक गर्ने व्यक्तिमाथि समेत प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने प्रहरीले चेतावनी दिएको छ ।
प्रहरीले यौनजन्य हिंसा तथा बालबालिकामाथि हुने अपराधका घटनामा पीडितको पहिचान र गोपनीयता सुरक्षित राख्न सबैलाई सचेत रहन आग्रह गरेको छ ।