अति पिछडिएको मुसहर समुदायको अवस्था र उनीहरूले भोग्दै आएका समस्या बुझ्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मधेश प्रदेशको भ्रमणमा आउने भएकी छन् ।
मन्त्री रावल मंसिर ११ गते शुक्रबार मधेश प्रदेशका धनुषा, सिरहा र सप्तरी जिल्लाको भ्रमणमा आउन लागेकी हुन् । भ्रमणका क्रममा उनले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय तथा भूमि प्रशासन कार्यालयका पदाधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
त्यसैगरी, मन्त्री रावलले भूमिहीन, सुकुम्बासी तथा दलित समुदायका बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नेछिन् । विशेषगरी मुसहर बस्तीमा पुगेर त्यहाँका नागरिकले भोग्दै आएका जग्गा, आवासलगायतका समस्याबारे जानकारी लिने कार्यक्रम रहेको छ ।
अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासो सम्बोधन गर्ने उपायबारे समेत छलफल गरिने जनाइएको छ ।