लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको नाम र आडमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपही निवासी रामनारायण साहले ठगी तथा मिटरब्याजको कारोबार गर्दै आएको पीडितहरूले आरोप लगाएका छन् ।
बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै पीडितहरूले साहले सुरुमा विभिन्न प्रलोभन देखाएर बीमा गराउने र पछि बीमाको किस्ता तिर्न नसकेको अवस्थालाई मौका पारेर ऋण तथा तमसुक बनाउँदै जग्गा कब्जा गर्न खोजेको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा उपस्थित पीडित संजयकुमार साहकी श्रीमती पुनम देवीले आफूहरूलाई बीमा अभिकर्ता साहले प्रलोभनमा पारेको बताइन् । उनका अनुसार सुरुमा श्रीमान्को नाममा बीमा खोलिदिएका साहले पछि किस्ता तिर्न नसक्दा दुई लाख रुपैयाँ जम्मा भएको रकमबाट ऋण मिलाइदिने र किस्ता आफैँ तिरिदिने भन्दै तमसुक बनाएका थिए ।
तर, अहिले आएर साहले आफ्नो जग्गा कब्जा गर्न खोजेको र जग्गासमेत रोक्का गराएको पुनमको आरोप छ । उनले साहले आफूहरूसँग ब्याजसहित साढे ९ लाख रुपैयाँ माग गरिरहेको बताइन् ।
पुनमका अनुसार उनी २०७६ सालदेखि नै न्यायका लागि विभिन्न निकाय धाइरहेकी छन् । जिल्ला अदालत र उच्च अदालतमा समेत साहले पीडितविरुद्ध मुद्दा दायर गरेको उनको भनाइ छ । उच्च अदालतले २०७७ सालदेखि नै उनको जग्गासम्बन्धी विवादमा निषेधाज्ञा जारी गरेको पनि उनले बताइन् ।
न्यायका लागि लामो समयदेखि प्रयास गर्दा पनि सुनुवाइ नभएपछि पछिल्लो साता जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको पुनमले जानकारी दिइन् । प्रहरीले छलफलका लागि बोलाउने भन्दै साहलाई आइतबार उपस्थित हुने सर्तमा छाडेको भए पनि उनी हालसम्म उपस्थित नभएको पीडितको दाबी छ ।
त्यस्तै, अर्की पीडित निर्मला देवी साहले रामनारायण साह आफ्नै नातेदार भए पनि आफूलाई ठगी गरेको आरोप लगाइन् । उनले सुरुमा डेढ लाख रुपैयाँ ऋण लिएको र उक्त रकम चुक्ता गरिसकेको बताइन् । तर, अहिले साहले १२ लाख रुपैयाँ माग गर्दै आफ्नो जग्गा कब्जा गर्न खोजेको उनको आरोप छ ।
निर्मलाका अनुसार ऋणबापतको डेढ लाख रुपैयाँ चुक्ता गरिसकेकी छन् । ब्याजस्वरूप थप डेढ लाख रुपैयाँ दिन तयार हुँदा पनि साहले जग्गा फिर्ता नगरी रोक्का गराएको उनको गुनासो छ ।
यस्तै, अर्की पीडित पुनम देवी ठाकुरले पनि श्रीमान्लाई बीमा गराउने नाममा ठगी गरिएको आरोप लगाइन् । उनका अनुसार बीमाको किस्ता तिर्ने बहानामा श्रीमान्लाई मदिरा सेवन गराएर आफूलाई जानकारी नै नदिई तमसुक बनाइएको थियो । अहिले सोही तमसुकका आधारमा रकम बाँकी रहेको भन्दै जग्गा कब्जा गर्न खोजिएको उनको आरोप छ ।
पीडितहरूका अनुसार रामनारायण साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी तथा आर्थिक लेनदेनसम्बन्धी चारवटा जाहेरी परेका छन् ।
पीडितहरूले आफूहरूको जग्गा फिर्ता गराउन, आर्थिक शोषण रोक्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।