पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन् ।
करिब २५ वर्षीय यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ निवासी यादवले सोही वडाका अली भन्ने गुलाम गौसलाई उनकी आमा बिरामी रहेको भन्दै पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ ठगी गरेको आरोप छ ।
पीडित गौसले दिएको जाहेरीका आधारमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले खल्ती एप, बैंक ट्रान्सफर तथा नगदमार्फत उक्त रकम लिएको प्रहरीको भनाइ छ ।
पीडितले पटक–पटक रकम फिर्ता माग्दा यादवले आजभोलि भन्दै आश्वासन दिने गरे पनि हालसम्म रकम फिर्ता नगरेपछि प्रहरीमा उजुरी दिएको जनाइएको छ ।
यादवमाथि गौससँग मात्रै नभई अन्य व्यक्तिहरूसँग समेत लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
प्रहरीले गत आइतबार नै उनलाई पक्राउ गरेको भए पनि पक्राउबारे सार्वजनिक गर्न आनाकानी गरेको स्रोतको दाबी छ । राजनीतिक दबाबका कारण प्रहरीले पक्राउको विवरण सार्वजनिक नगरेको आरोपसमेत लागेको छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले भने मिर्चैया प्रहरीले पाँच दिनअघि नै यादवलाई पक्राउ गरेको भए पनि आफूलाई पक्राउसम्बन्धी विवरण आज मात्रै प्राप्त भएको बताए ।
सूचना अधिकारी पालका अनुसार यादवमाथि एकजना व्यक्तिको मात्रै नभई अन्य धेरै व्यक्तिबाट समेत लाखौँ रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
यसैबीच, पूर्वमन्त्री मातृका प्रसाद यादवले आफ्ना नातिलाई छुटाउन राजनीतिक दबाब बढाइरहेको स्रोतको दाबी छ । यद्यपि, यस विषयमा पूर्वमन्त्री यादवको आधिकारिक प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
पक्राउ परेका यादवमाथि लागेको ठगीको आरोप अनुसन्धानको क्रममा रहेको छ । आरोप पुष्टि हुन बाँकी छ ।