नेपाली कांग्रेसको देउवा समूहमा सभापति पदका लागि नेता विमलेन्द्र निधिको उम्मेदवारीबारे चर्चा चुलिएको छ ।
मधेश प्रदेशका आठवटै जिल्लाका सभापतिले सामूहिक रूपमा सभापति पदमा उम्मेदवारी दिन आग्रह गरेपछि निधि चुनावी तयारीमा जुटेका हुन् ।
निधिले आफ्नो उम्मेदवारीलाई बलियो बनाउन पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालासँग समेत समर्थन मागेका छन् । देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्न लागेको १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीसहित उनले आफूनिकट नेताहरूसँग छलफल र समर्थन जुटाउने प्रयास तीव्र बनाएका छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई १५औँ महाधिवेशन तयारी समितिको संयोजक बनाएको छ । बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा समितिको बैठक बस्नुअघि निधि र कोइरालाबीच भेटवार्ता भएको थियो । भेटमा निधिले आफू सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको जानकारी गराउँदै कोइरालासँग सहयोग र समर्थन मागेका थिए ।
त्यसक्रममा निधिले १४औँ महाधिवेशनमा आफूले देउवासँग सभापति पदमा प्रतिस्पर्धा गरेको स्मरण गराएका थिए । त्यतिबेला आफूहरूको सहयोगकै कारण देउवा सभापति निर्वाचित भएको उनको भनाइ थियो । विगतमा आफूहरूले कोइरालालाई महामन्त्री बनाउन सहयोग गरेको र अहिले उनलाई महाधिवेशन तयारी समितिको संयोजक बनाइएको प्रसंगसमेत निधिले उठाएका थिए ।
पार्टीमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको र अघिल्लो महाधिवेशनमा समेत सभापति पदमा प्रतिस्पर्धा गरिसकेकाले यसपटक आफ्नो उम्मेदवारी स्वाभाविक भएको निधिको तर्क थियो । तर, निधिले समर्थन मागे पनि कोइरालाले आफ्नो धारणा स्पष्ट पारेका छैनन् ।
निधिनिकट नेताहरूका अनुसार उनले आफूनिकट नेता तथा कार्यकर्तालाई सभापति पदमा उम्मेदवारी दिने तयारीअनुसार संगठनात्मक गतिविधि अघि बढाउन निर्देशन दिइसकेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका सभापतिले दिएको सुझावले पनि निधिलाई उम्मेदवारीका लागि थप उत्साहित बनाएको बताइएको छ ।
देउवा समूहमा सभापति पदका आकांक्षीहरू बढ्दै गएका छन् । निधिसँगै शशांक कोइराला, प्रकाशशरण महत र एनपी साउदको नाम पनि चर्चामा छ । कोइराला स्वयं पनि सभापति पदका आकांक्षी मानिएका छन् ।
देउवा समूहले अहिलेसम्म ६० भन्दा बढी जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ भने दुई प्रदेशको अधिवेशन पनि सकिएको छ । तल्लो तहका अधिवेशन सम्पन्न हुँदै गएपछि अब केन्द्रीय नेतृत्व चयनका विषयमा नेताहरूबीच छलफल हुन थालेको छ ।
देउवानिकट नेताहरूका अनुसार देउवाले आफूलाई नै सभापतिको उत्तराधिकारी बनाउने विश्वास कोइरालामा छ । गत साउनको राष्ट्रिय सम्मेलनबाट कोइरालालाई महाधिवेशन तयारी समितिको संयोजक बनाउनु आगामी नेतृत्वमा पनि उनलाई अघि सार्ने संकेतका रूपमा बुझ्नुपर्ने कोइरालानिकट एक नेताको भनाइ छ ।
यद्यपि, सभापति पदका आकांक्षीहरूलाई व्यवस्थापन गर्न र पार्टीलाई थप समावेशी बनाउन विधान संशोधनको तयारीसमेत भइरहेको छ । प्रदेश तहसम्म पदाधिकारीको संख्या बढाइए पनि केन्द्रीय पदाधिकारीको संख्या थप्ने र केन्द्रीय कार्यसमितिको आकार विस्तार गर्ने विषयमा भने छलफल हुन बाँकी छ ।
देउवा समूहले अहिलेसम्म वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सहमतिका आधारमा सम्पन्न गर्दै आएको छ । केन्द्रीय महाधिवेशन पनि सहमतिमै टुंग्याउने प्रयास भइरहेको छ । तर, निधिले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेपछि नेतृत्व चयनका लागि निर्वाचन हुन सक्ने सम्भावना बढेको छ ।
निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच १३औँ महाधिवेशनदेखि नै सभापतिमा साझा उम्मेदवार तय गर्ने विषयमा पटक–पटक छलफल हुँदै आएको थियो । उनीहरूबीच एकअर्काको निवासमा भेटघाट र लन्च मिटिङसमेत हुने गरेको थियो ।
तर, २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनमा निधि र प्रकाशमान सिंह दुवैले सभापति पदमा उम्मेदवारी दिएका थिए । त्यसपछि पनि उनीहरूबीच भेटघाट र छलफल जारी रह्यो । अहिले निधि र शशांक दुवैले सभापति बन्ने आकांक्षा देखाएपछि पुरानो सहकार्य प्रतिस्पर्धामा परिणत हुन सक्ने देखिएको छ । प्रकाशमान सिंहले भने आफ्नो उम्मेदवारीबारे अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।
यता, देउवा समूहका केही नेताहरूले पार्टीभित्रका सबै पक्षलाई समेटेर सहमतिमै सभापति र पदाधिकारी चयन गर्ने प्रयास भइरहेको बताएका छन् । प्रदेश अधिवेशन सम्पन्न भएपछि देउवाकै उपस्थितिमा भावी नेतृत्वबारे छलफल गर्ने तयारी रहेको उनीहरूको भनाइ छ ।
पदाधिकारीको संख्या र केन्द्रीय कार्यसमितिको आकार विस्तार गर्न सके धेरै आकांक्षीलाई व्यवस्थापन गर्न सकिने नेताहरूको बुझाइ छ । यद्यपि, कसलाई सभापति बनाउने वा कसलाई पदाधिकारीको जिम्मेवारी दिने भन्ने विषयमा औपचारिक छलफल सुरु भइसकेको छैन । सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गर्न सकिने संकेत देउवाले दिएको पनि पदाधिकारीका एक आकांक्षीले बताएका छन् ।