सप्तरी | सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४, कोइलाडीस्थित मुसहर बस्तीका ५२ परिवार अझै पनि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने प्रतीक्षामा छन् । वर्षौँदेखि बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्व नपाउँदा उनीहरू आफ्नो भविष्यप्रति चिन्तित बनेका छन् ।
२०७४ सालको बाढीपछि तत्कालीन पत्रकार तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा उक्त बस्ती निर्माण गरिएको थियो । तर, बस्ती निर्माण भएको लामो समय बितिसक्दा पनि त्यहाँका परिवारले जग्गाको स्वामित्व पाउन सकेका छैनन् ।
यसैबीच, शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मुसहर बस्तीमै पुगेर स्थानीयवासीका समस्या र गुनासा सुन्नुभएको छ । उहाँले बस्तीका परिवारलाई जग्गाको स्वामित्व दिलाउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीयवासी बिलास सदाका अनुसार बाढीपछि निर्माण गरिएको उक्त बस्तीमा ५२ परिवारका घर छन् । तर, वर्षायाममा घरभित्र पानी पस्ने र हिउँदमा शीतलहरका कारण अत्यधिक चिसो सहनुपर्ने समस्या अझै कायम छ ।
स्थानीय बिलास सदा, अघुनु सदा, बुधाई सदा, जितेन्द्र सदा, शिवचरण सदा, सञ्जीव सदा र इन्द्रजित सदालगायतले मन्त्रीसमक्ष जग्गाको स्वामित्व, आवास र दैनिक जीवनयापनका समस्याबारे गुनासो राखेका थिए । परिवारको सङ्ख्या बढ्दै जाँदा उपलब्ध घरमा कोठा अपुग भएको भन्दै उनीहरूले घरकोठा र जग्गाको क्षेत्रफल बढाउनसमेत माग गरेका छन् ।
स्थानीय सरोदेवी सदाले गरिबीका कारण परिवारको छाक टार्नसमेत कठिन भइरहेको बताउनुभयो । उहाँका अनुसार दैनिक ज्यालादारीमा काम पाएको दिन मात्र परिवारको गुजारा चल्ने गरेको छ भने काम नपाएको दिन खानसमेत समस्या हुने गरेको छ ।
एउटै घरमा बुहारी, छोरी र आफू बस्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले आर्थिक अवस्था कमजोर भएकाले छुट्टै घर बनाउन वा घडेरी किन्न नसकेको गुनासो गर्नुभयो ।
लालपुर्जाका लागि स्थलगत अध्ययन गरिने
मन्त्री रावलले मुसहर समुदायको प्रमुख समस्या जग्गाको स्वामित्व रहेको उल्लेख गर्दै बस्तीको वास्तविक अवस्था र जग्गाको विवरण अध्ययन गरिने बताउनुभयो ।
उहाँका अनुसार आगामी सोमबार बस्तीमा स्थलगत अध्ययन गरी जग्गा दर्ताको अवस्था, बस्ती खोलानालाको जोखिममा रहे–नरहेको, घरपरिवारका सदस्य सङ्ख्या तथा स्थानीयले भोगिरहेका समस्याबारे विवरण सङ्कलन गरिनेछ ।
नियम र कानुनअनुसार लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने बताउँदै उहाँले कानुनी मापदण्ड पूरा गर्ने परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । मापदण्ड पूरा नभएका परिवारलाई समेत कानुनी व्यवस्थाभित्र रहेर कसरी जग्गाको स्वामित्व दिलाउन सकिन्छ भन्ने विषयमा पहल गरिने उहाँको भनाइ थियो ।
वर्षौँदेखि बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित सदा समुदायका परिवारलाई कानुनी प्रक्रियामार्फत लालपुर्जा उपलब्ध गराउने उद्देश्यले विवरण सङ्कलन गर्न लागिएको मन्त्री रावलले बताउनुभयो ।
बस्तीको समस्या बुझ्न मन्त्री रावलसँगै सप्तरी निर्वाचन क्षेत्र नं. ४ का सांसद सीताराम शाह, सांसद खगेन्द्र कर्ण, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्कालगायतको टोली पुगेको थियो ।
यसअघि मन्त्री रावलले जिल्लास्थित छिन्नमस्ता भगवती र कङ्कालिनी भगवती मन्दिरमा दर्शनसमेत गर्नुभएको थियो ।