सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा सर्लाही आइपुगेका सांसद सिंहलाई शनिबार साँझ सदरमुकाम मलंगवामा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् ।
यसैबीच, प्रदर्शनकारीहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सांसद सिंहको पुत्लासमेत दहन गरेका छन् । सांसद सिंहका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको आरोप लगाउँदै उनीहरूले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
कालो झण्डा प्रदर्शनका क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवले बताएका छन् । पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै सेनाले प्रहरीको कदमप्रति आपत्ति जनाएको छ ।
हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले सांसद सिंहका विगतका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको बताएका छन् । विरोध प्रदर्शन गर्ने अधिकारमाथि अंकुश लगाउन खोजिएको आरोप लगाउँदै उनीहरूले पक्राउको विरोध गरेका हुन्।
यता, पदयात्राका क्रममा सर्लाही आइपुगेका सांसद सिंह शनिबार राति जिल्ला सदरमुकाम मलंगवामै बस्ने कार्यक्रम रहेको छ । उनको पदयात्रा आइतबार बिहान ७ः३० बजेदेखि पुनः सुरु हुने रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँले जानकारी दिएका छन् ।
सांसद सिंहको सर्लाही आगमनसँगै कालो झण्डा प्रदर्शन, पुत्ला दहन र चार जना पक्राउ परेको घटनाले जिल्लाको राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा पाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)