सप्तरी । जंगली हात्तीको बथान गाउँबस्ती र खेतमा पस्न थालेपछि सप्तरीको उत्तरी तथा पूर्वी भेगका बासिन्दा त्रासमा परेका छन् । एक सातायता हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हात्तीले घरगोठ भत्काउनुका साथै खेतमा लगाइएको बालीनालीसमेत नष्ट गरेको छ ।
गत असोजदेखि बच्चासहित २५ देखि ३० वटाको सङ्ख्यामा रहेको जंगली हात्तीको बथान सप्तरी प्रवेश गरेको डिभिजन वन कार्यालयले जनाएको छ । कञ्चनरुप नगरपालिकाबाट जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको हात्तीको बथान सुरुङ्गा, शम्भुनाथ, अग्निसाइर कृष्णासवरन, रुपनी र हनुमाननगर कंकालिनी नगरपालिकासम्म पुगेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
हात्तीको आक्रमणबाट कात्तिकको अन्तिम साता सुरुङ्गा नगरपालिका–४ विरनगरका ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो । त्यस्तै, मंसिर ९ गते बिहान रुपनी गाउँपालिका–६ तरेहैताका ५३ वर्षीय सुवबहादुर श्रेष्ठले पनि हात्तीको आक्रमणमा ज्यान गुमाएका छन् ।
यसैगरी, मंसिर ८ गते अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का ३५ वर्षीय गजेन्द्रनारायण साह र रुपनी गाउँपालिका–६ का ४७ वर्षीय शिवशंकर यादव हात्तीको आक्रमणबाट घाइते भएका छन् ।
डिभिजन वन कार्यालयका अनुसार हात्तीको आक्रमणबाट बाँस, खर र माटोले बनेका ११ वटा घरमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार जिल्लाका विभिन्न स्थानमा करिब साढे पाँच बिघा क्षेत्रफलमा लगाइएको कृषि बालीसमेत नष्ट भएको छ । सुरुङ्गा, शम्भुनाथ, अग्निसाइर कृष्णासवरन, रुपनी, कञ्चनरुप, सप्तकोसी र हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडामा बालीनालीमा क्षति पुगेको हो ।
धान र गहुँ पाक्ने समयमा बस्ती पस्छन् हात्ती
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार जिल्लाको उत्तरी भेगमा फैलिएको चुरे पहाड र भावर क्षेत्र हात्ती तथा अन्य वन्यजन्तुको प्राकृतिक बासस्थान र आवागमन मार्ग हो ।
उदयपुर र कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आउने जंगली हात्ती प्रत्येक वर्ष धान र गहुँ पाक्ने तथा काट्ने समयमा सप्तरीका बस्ती र खेतीयोग्य जमिनमा प्रवेश गर्ने गरेका छन् ।
ठाकुरका अनुसार हात्तीको नियमित आवागमन मार्ग सप्तकोसी नगरपालिकाको त्रियुगा खोला हुँदै गंगाजली खोला र कमलपुर टोल आसपासको क्षेत्र हो । यही प्राकृतिक मार्ग हुँदै यस वर्ष पनि असोजदेखि बच्चासहितको ठूलो बथान सप्तरी प्रवेश गरेको उहाँले बताउनुभयो ।
खाद्यान्न बाली पाक्ने समयमा हात्ती बस्ती र खेतमा पस्दा मानवीय जोखिम बढ्नुका साथै किसानको वर्षभरिको मेहनतसमेत नष्ट हुने गरेको सप्तरी भारदहका युवा किसान वीरेन्द्र राउतको भनाइ छ ।
पटाका, आगो र माइकिङबाट हात्ती धपाउने प्रयास
हात्तीको बथानलाई बस्ती र खेतबाट जंगलतर्फ फर्काउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र स्थानीय युवा परिचालित भएका छन् ।
सीमित साधनस्रोतका बीच बारुदी पटाका तथा उच्च क्षमताका मेगाफोन र लाउडस्पिकर प्रयोग गरेर हात्ती धपाउने प्रयास भइरहेको वन कार्यालयले जनाएको छ ।
हात्तीको गतिविधि पत्ता लगाउन ड्रोन क्यामराबाट समेत निगरानी भइरहेको छ । विशेषगरी सुरुङ्गा, खडक, शम्भुनाथ र सप्तकोसी नगरपालिकाका वन क्षेत्रमा हात्तीको सङ्ख्या, अवस्था र आवागमनबारे निगरानी भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार हात्ती बस्तीमा प्रवेश गरेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरी स्थानीयको सुरक्षामा ध्यान दिने गरिएको छ ।
वन सुरक्षा समन्वय समितिको बैठकबाट हात्ती प्रभावित क्षेत्रमा दुईवटा गस्ती टोली गठन गरिएको छ । एउटा टोली साँझ ५ बजेदेखि राति ११ बजेसम्म र अर्को टोली राति ११ बजेदेखि बिहान ५ बजेसम्म परिचालित हुने व्यवस्था मिलाइएको छ ।
गस्तीमा वन कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडा सदस्य र स्थानीय युवालाई सहभागी गराइएको छ । हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई रातिको समयमा सतर्क रहन, हात्ती नजिक नजान र देखिएमा तत्काल प्रहरी वा वन कार्यालयलाई खबर गर्न माइकिङ तथा सामाजिक सञ्जालमार्फत आग्रह गरिएको छ ।
हात्ती व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, कोशीटप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष र प्रदेश वन निर्देशनालयलगायत निकायसँग समेत सहयोग मागिएको छ । तर, हात्तीको नियमित आवागमन र बस्तीमा हुने प्रवेश नियन्त्रणका लागि दीर्घकालीन उपाय अपनाउनु चुनौतीपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ ।
ठूलो बथान आरक्ष क्षेत्रमा, केही हात्ती अझै बस्ती नजिक
डिभिजन वन कार्यालयका अनुसार हाल एक–दुईवटा हात्तीबाहेक ठूलो बथान सप्तरी प्रवेश गरेको मार्ग हुँदै सप्तकोसी नगरपालिका–कमलपुर टोलभन्दा पूर्व त्रियुगा खोला भएर कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुगेको छ ।
फिल्ड कर्मचारीबाट प्राप्त सूचनाअनुसार हात्तीको बथान शुक्रबार दिउँसो आरक्ष क्षेत्रमा रहने र रातिको समयमा मध्यवर्ती क्षेत्रका खेतबारीमा आउने गरेको छ ।
ठूलो बथान आरक्ष क्षेत्रमा पुगे पनि केही हात्ती अझै बस्ती नजिकै रहेकाले स्थानीयको त्रास हट्न सकेको छैन । रातिको समयमा बालीनाली खान र बस्ती आसपास आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै वन कर्मचारीले निगरानी तथा हात्ती धपाउने कार्य जारी राखेका छन् ।
घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिन बाध्य
जंगली हात्तीले घर भत्काएपछि रुपनी गाउँपालिका–६ आदर्श टोलका दर्जनभन्दा बढी परिवारको बिचल्ली भएको छ । हात्तीले घरमा भण्डारण गरेर राखेको वर्षभरि खान पुग्ने अन्नपात खाइदिएको छ भने भाँडाकुँडा, लत्ताकपडा र फर्निचरसमेत नष्ट गरेको छ ।
घरबारविहीन बनेका कतिपय परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् भने केहीले भत्किएकै घरमा त्रिपाल टाँगेर रात काटिरहेका छन् ।
हात्तीले घर भत्काएर अन्नपातसमेत नष्ट गरेपछि बिहान–बेलुकाको छाक टार्न समस्या भएको पीडित केशव विश्वकर्माले बताउनुभयो ।
‘छिमेकीको घरमा ओत लागेर बस्न त पाएका छौँ, तर अब खानेकुरा कहाँबाट ल्याउने भन्ने चिन्ता छ,’ उहाँले भन्नुभयो, ‘हात्तीको जोखिम पनि हटेको छैन ।’
बाबुराम विश्वकर्मा, ज्ञानबहादुर आले, मोहन विश्वकर्मा, प्रेम लायो, लालबहादुर राई र मिरा तामाङलगायतको घरमा हात्तीले क्षति पुर्याएको छ । त्यस्तै, दिलकुमारी चौधरी र सूर्यनारायण महतोको गोठसमेत भत्काएको छ ।
वडा सदस्य सूर्यनारायण मेहताका अनुसार घरगोठ र घरभित्रका सामानमा मात्रै ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
यसैगरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ गुम्बा टोलकी ७३ वर्षीया दशनी देवीको घरमा पनि हात्तीले १० लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ । घर र अन्नपातसमेत नष्ट भएपछि उहाँ नातिनीसहित छिमेकीको शरणमा बस्न बाध्य हुनुभएको छ ।
मजदुरीका लागि छोराहरू बाहिर रहेका बेला हात्तीले घर तहसनहस पारेपछि परिवारको बिचल्ली भएको उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालयका प्रमुख ठाकुरका अनुसार हात्तीको आक्रमणबाट भएको मानवीय, घरगोठ तथा कृषि बालीको क्षतिको विवरण सङ्कलन र राहतका लागि आवश्यक कागजात तयार पार्ने काम भइरहेको छ ।
चुरे र भावर क्षेत्र हात्तीको प्राकृतिक बासस्थान तथा आवागमन मार्ग भए पनि वन क्षेत्र, बस्ती र खेतीयोग्य जमिनबीच बढ्दो सम्पर्कले मानव–हात्ती द्वन्द्व थप जटिल बन्दै गएको छ ।