उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको झोरबाट ठूलो मात्रामा नगदसहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
चीनको केरुङतर्फ जान तयारीमा रहेको उक्त ट्रकबाट करिब २५ करोड रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरिएको हो । ना ७ ख १६५२ नम्बरको ट्रकलाई प्रहरीले शङ्कास्पद रूपमा चेकजाँच गर्दा नेपाली रुपैयाँ, अमेरिकी डलर र युरो सहित ठूलो मात्रामा नगद फेला पारेको छ । भने, ट्रक चालक कुसाङ लामा पक्राउ परेका छन् ।
प्रारम्भिक अनुसन्धानका आधारमा उक्त रकम सुन तस्करीसँग सम्बन्धित हुन सक्ने प्रहरी स्रोतले जनाएको छ । प्रहरीले ट्रकमा ठूलो मात्रामा नगद रहेको भए पनि यसको स्रोत खुल्न नसकेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा यो रकम अवैध रूपमा सुन तस्करीका लागि प्रयोग गर्न खोजिएको हुनसक्ने आशंका गरिएको छ ।
नेपाल-चीन सीमाना हुँदै अवैध सुन तस्करी र मुद्रा ओसारपसार हुने गरेको प्रहरीको निष्कर्ष छ । विशेष गरी केरुङ मार्ग हुँदै तस्करीको गतिबिधि बढिरहेको र यस घटनाले पुनः ठूलो सञ्जाल सक्रिय रहेको संकेत गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका ट्रक चालकलाई विस्तृत बयानका लागि राखिएको छ ।
उक्त रकमको स्रोत, यसको प्रयोगकर्ता तथा अन्य संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।