सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइल प्रयोग गरी ह्वाट्सएपमार्फत चिट चोराउने प्रयास भएको पाइएको छ । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको परीक्षा चलिरहेको समयमा ह्वाट्सएपमार्फत चिट चोराउन संलग्न दुई जना परीक्षा गार्ड पक्राउ परेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका शिक्षकहरू श्रवणकुमार चौधरी र रमानन्द मेहता परीक्षा केन्द्रमै रहँदा मोबाइलमार्फत चिट चोराउन संलग्न रहेको प्रमाण भेटिएको छ । परीक्षा केन्द्र अनुगमनमा पुगेको टोलीलाई देखेपछि उनीहरूले मोबाइल अफ गरेका थिए । तर, मोबाइल जाँच गर्दा परीक्षासम्बन्धी कुराकानी, विद्यार्थीको नाम, सिम्बल नम्बर, बोर्डिङ स्कुलको नाम र विद्यार्थी सङ्ख्यासम्बन्धी च्याट भेटिएको थियो ।
अनियमिततामा संलग्न भएकाले उनीहरूलाई परीक्षा गार्डबाट निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । परीक्षा सञ्चालनलाई निष्पक्ष बनाउन प्रशासनले थप निगरानी बढाउने जनाएको छ ।