सिरहाको गोलबजार नगरपालिका–९ की १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ ।
गत फागुन २९ गते घरबाट निस्केकी खातुनको शव इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले घुर्मी खोला किनारमा फेला पारेको हो ।
गोलबजार–९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीका अनुसार वनमारा झाडीभित्रबाट कुहिएको गन्ध आएपछि गाउँलेहरूलाई शंका लाग्यो र प्रहरीले खाल्डो उत्खनन गर्दा बालिकाको शव फेला परेको हो । ‘शव बोरामा बेरिएको अवस्थामा खाल्डोभित्र पुरिएको थियो,’ कामतीले भने ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तबहादुर बाखुले शव खातुन कै रहेको पुष्टि गरेका छन् । डीएसपी बाखुले घुर्मी खोला किनारमा करिब तीन फिट खनेपछि जुटको बोरामा बेरिएको अवस्थामा बालिकाको शव फेला परेको जानकारी दिए ।
खातुनकी आमा जाहेदा खातुनले चैत १ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा छोरी हराएको भन्दै खोजतलास गरिदिन निवेदन दिएकी थिइन् । खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।