मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत ‘छोरी शिक्षा बीमा कार्यक्रम’ अघि बढाएको छ ।
यस योजनाका लागि प्रदेश सरकारले वाणिज्य बैंक र बीमा कम्पनीहरूलाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । शिक्षा विकास निर्देशनालय जनकपुरधामका अनुसार २०७८ माघ १ गतेपछि जन्मिएका र एक वर्षभित्र बीमा प्रक्रियामा सहभागी भएका छोरीहरूलाई २० वर्षको उमेरपछि एकमुष्ट ३ लाख रुपैयाँ प्रदान गरिनेछ ।
प्रदेश सरकारले न्यूनतम प्रिमियम दर र थप सुविधाहरू प्रस्ताव गर्न ‘क’ वर्गका वाणिज्य बैंक र बीमा कम्पनीहरूलाई १५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ । निर्देशनालयका अनुसार न्यूनतम प्रिमियम दर तथा लाभदायक शर्तहरू दिने सेवाप्रदायक कम्पनीलाई छनोट गरिनेछ ।
बीमा प्रक्रिया सुरु भएपछि छोरीको नाममा बैंक खाता खोलिनेछ र सो खातामा बीमा रकम जम्मा गरिनेछ। २० वर्ष पुगेपछि छोरीले एकमुष्ट ३ लाख रुपैयाँ पाउने व्यवस्था मिलाइनेछ । सुरुमा दुई वर्षका लागि सम्झौता हुनेछ, जसलाई आवश्यकता अनुसार नवीकरण गर्न सकिनेछ ।
प्रदेश सरकारले यो कार्यक्रमलाई ‘गौरवको योजना’को रूपमा अघि सारेको छ । मधेश प्रदेशका शिक्षा अधिकारीहरूले यो कार्यक्रमले बालिका शिक्षामा टेवा पुग्ने, छोरीहरूको भविष्य सुरक्षित गर्ने र शिक्षा तथा स्वास्थ्य जस्ता आवश्यकताहरू पूरा गर्न सहयोग पुर्याउने विश्वास लिएको बताएका छन् ।