मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडमिक भवनको शिलान्यास गरेका छन् ।
जनकपुरधाम–१४ स्थित मणि मण्डप क्षेत्रको गुठी जग्गामा निर्माण हुन लागेको उक्त भवन शिलान्याससँगै प्रतिष्ठानको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । सोमबार आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री सिंहले एकेडमिक भवनको निर्माण कार्य सम्पन्न भएपछि प्रतिष्ठानका शैक्षिक तथा स्वास्थ्य सेवासम्बन्धी गतिविधिहरू थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले भवन निर्माणका लागि अढाई करोड रुपैयाँको टेण्डर निकालिएको जानकारी दिँदै समयमै कार्य सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले समय अगावै गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्ने ठेकेदारलाई इन्सेन्टिभ दिने र तोकिएको समयभित्र नसक्नेहरूमाथि पेनाल्टी लगाउने रणनीति लिइएको बताए । “हाम्रो सरकार विकास निर्माणमा ढिलासुस्ती नगर्ने नीति अपनाउँछ । निर्धारित मितिमा गुणस्तरीय रूपमा काम सम्पन्न गर्नु निर्माण कम्पनीहरूको मुख्य दायित्व हो,” उनले भने ।
प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवले १८ बिघा क्षेत्रफलमा निर्माण हुन लागेको यस परियोजनाले प्रतिष्ठानको शैक्षिक तथा स्वास्थ्य सेवा क्षेत्रमा आमूल परिवर्तन ल्याउने उल्लेख गरे । उनका अनुसार एकेडमिक भवनसँगै कक्षा कोठा, प्रयोगशाला, छात्रावास र अस्पतालको नयाँ भवन पनि निर्माण गरिनेछ ।
जनकपुरधाम क्षेत्रमा उत्कृष्ट स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको महत्वबारे जानकारी दिँदै यादवले भने, “यस परियोजनाले प्रदेशका विद्यार्थीहरूलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्नेछ । साथै, मधेस प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि ठूलो योगदान गर्नेछ।”