कलैया | तलब नपाएको विरोधमा प्रादेशिक अस्पताल कलैयाका छात्रवृत्ति करारका चिकित्सकहरूले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रेका १३ जना चिकित्सकहरूले पटक–पटक संघ र प्रदेश सरकारसँग माग राख्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको बताएका छन् ।
सेवा बन्द भएपछि अस्पतालमा उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन् । अस्पतालमा आकस्मिक सेवा मात्रै सञ्चालन भइरहेको छ भने ओपीडी, सर्जरी, प्रसूति लगायतका अन्य सेवा ठप्प भएका छन् ।
नेपाल सरकारको छात्रवृत्ति करार अन्तर्गत प्रादेशिक अस्पताल कलैयामा विशेषज्ञ चिकित्सक २ जना, मेडिकल अधिकृत ५ जना, नर्सिङ्ग अधिकृत ४ जना, डेन्टल अधिकृत १ जना र फार्मेसी अधिकृत १ जना गरी कुल १३ जना चिकित्सक कार्यरत छन् ।
चिकित्सकहरूले तलब उपलब्ध नगरिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। यता, अस्पताल प्रशासनले चिकित्सकहरूका माग सम्बोधनका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जनाएको छ ।