स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि व्यवस्था विभागका अधिकृतस्तरका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले विभाग र मातहतका कार्यालयमा कार्यरत केही अधिकारीहरूको सरुवा गरेको हो ।
मन्त्रालयले औषधि व्यवस्था विभागमा कार्यरत केशु गिरी, अच्युत रेग्मी र निकेश श्रेष्ठलाई राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरेको छ । त्यस्तै, राष्ट्रिय औषधि प्रयोगशालामा कार्यरत निशा श्रेष्ठ र सुस्मिता मरासिनीलाई औषधि व्यवस्था विभागमा ल्याइएको छ ।
यसैगरी, स्वास्थ्य सेवा विभागमा कार्यरत सञ्जिब कट्टेललाई औषधि व्यवस्था विभागमा पठाइएको छ भने औषधि व्यवस्था विभागमा कार्यरत वर्षा शाक्यलाई स्वास्थ्य सेवा विभागमा सरुवा गरिएको छ ।
मन्त्रालयका अनुसार राजेश श्रेष्ठलाई विराटनगर सरुवा गरिएको छ । प्रशासनिक कामकाज तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्य केही सुपरभाइजरहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिएका छन् ।
मन्त्रालयले विभाग र मातहतका कार्यालयमा कर्मचारीको जिम्मेवारी परिवर्तन गर्दै प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास गरेको जनाएको छ ।