बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली लागेर एक युवक घाइते भएका छन् ।
झडपका क्रममा प्रदर्शनकारीहरूले नौवटा मोटरसाइकलमा आगजनी गर्नुका साथै अस्पतालमा समेत तोडफोड गरेका छन् ।
फेटा गाउँपालिकाले शनिबार नवनिर्मित अस्पताल उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो । तर अस्पतालमा आवश्यक पूर्वाधार, विद्युत्, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा नभएको भन्दै स्थानीय सचेत नागरिकले विरोध जनाएका थिए ।
स्थानीयवासीले अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्था गरेपछि मात्रै उद्घाटन गर्नुपर्ने माग राख्दै आएका थिए । तर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले स्थानीयको माग बेवास्ता गर्दै जबर्जस्ती उद्घाटन गर्न खोजेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन् ।
यही विषयलाई लिएर विवाद बढ्दै जाँदा अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गण्डकका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसक्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।
झडपका क्रममा गोली लागेर फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका करिब १८ वर्षीय छोरा आदित पासवान घाइते भएका छन् । उनलाई पेटमा गोली लागेको a'lemPsf] छ ।
आगजनी तथा तोडफोडबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । अस्पताल निर्माण तथा उद्घाटनको विषयमा स्थानीयवासीले उठाएका प्रश्न र गाउँपालिकाबीच सहमति हुन नसक्दा विवादले हिंसात्मक रूप लिएको हो ।