समय–समयमा स्वाँ–स्वाँ हुने, श्वास फेर्न गाह्रो हुने, छाती घ्यार–घ्यार गर्ने तथा रातको समयमा खोकी बढ्ने समस्या छ ? यस्ता लक्षण दम (अस्थमा) रोगका संकेत हुन सक्छन् । दम श्वासप्रश्वाससँग सम्बन्धित दीर्घकालीन रोग हो ।
यसले फोक्सोमा हावा पुर्याउने नलीहरूमा सूजन ल्याउनुका साथै साँघुरो बनाउँछ। जसका कारण फोक्सोमा हावा भित्र लैजान र बाहिर निकाल्न कठिनाइ हुन्छ ।
दमका बिरामीलाई विभिन्न वस्तु तथा वातावरणीय कारणले एलर्जी हुन सक्छ। धुलो, धुवाँ, परागकण, चिसो हावा, कडा गन्ध, भित्तामा लगाइने रंग, केही खाद्य पदार्थ, व्यायाम तथा मानसिक तनावले दमका लक्षण बढाउन सक्छन् । त्यस्तै, भाइरल संक्रमण र धूमपानले पनि दमको समस्या थप जटिल बनाउन सक्छ ।
दमका प्रमुख लक्षण
दम भएका व्यक्तिमा देखिने सामान्य लक्षणहरूमा समय–समयमा श्वास फेर्न गाह्रो हुनु, छाती घ्यार–घ्यार गर्नु र खोकी लाग्नु प्रमुख हुन् । विशेषगरी राति तथा बिहानपख यस्ता समस्या बढी देखिन सक्छन् ।
यसका अतिरिक्त छाती कस्सिएको महसुस हुनु, श्वासप्रश्वासमा अवरोध आउनु र शारीरिक गतिविधि गर्दा छिट्टै थकाइ लाग्नेजस्ता समस्या पनि देखिन सक्छन् ।
कतिपय गम्भीर अवस्थामा श्वास फेर्न अत्यधिक कठिनाइ हुने, ओठ नीलो हुने तथा बिरामी सुस्ताउने अवस्था आउन सक्छ । यस्तो अवस्थामा तत्काल अस्पताल पुर्याउनुपर्छ। बोल्न नसक्ने वा श्वास फेर्न अत्यन्तै गाह्रो हुने अवस्था देखिएमा आपत्कालीन उपचार आवश्यक हुन्छ ।
दम बढाउने कारणबाट कसरी बच्ने ?
दमका बिरामीमा एलर्जी गराउने तत्व व्यक्ति अनुसार फरक हुन सक्छन् । कसैलाई धुलो र धुवाँले असर गर्छ भने कसैलाई चिसो हावा, परागकण वा घरपालुवा जनावरको रौँले समस्या बढाउन सक्छ ।
दमको समस्या नियन्त्रणमा राख्न सबैभन्दा पहिले आफूलाई असर गर्ने कारक तत्व पहिचान गरी त्यसबाट टाढा रहनु आवश्यक हुन्छ । आवश्यक परे चिकित्सकको सल्लाहमा एलर्जी परीक्षणसमेत गराउन सकिन्छ ।
बिरामीले घर तथा वरपरको वातावरण सफा राख्ने, धुलो र धुवाँबाट बच्ने, कडा गन्ध आउने पदार्थ तथा स्प्रे प्रयोग नगर्ने र धूमपानबाट टाढा रहने गर्नुपर्छ। अरूले धूमपान गरेको ठाउँमा समेत बस्नु हुँदैन।
त्यस्तै, मौसम परिवर्तन हुने समयमा विशेष सावधानी अपनाउनुपर्छ। चिकित्सकले दिएको औषधि नियमित सेवन गर्ने र आफू बाहिर जाँदा आवश्यक औषधि तथा इनहेलर साथमा राख्नुपर्छ ।
समयमै उपचार आवश्यक
दमका लक्षण देखिए पनि धेरै बिरामीले सामान्य समस्या ठानेर बेवास्ता गर्ने गर्छन्। तर, समयमै उपचार नगर्दा समस्या गम्भीर बन्न सक्छ । दम नियन्त्रणका लागि चिकित्सकले बिरामीको अवस्थाअनुसार औषधि तथा इनहेलर प्रयोग गर्न सल्लाह दिन सक्छन् ।
दमको समस्या बढेको अवस्थामा लक्षण कम गर्ने औषधि आवश्यक पर्न सक्छ भने भविष्यमा समस्या दोहोरिन नदिन नियमित रूपमा प्रयोग गर्नुपर्ने औषधिसमेत दिइन्छ ।
त्यसैले श्वास फेर्न गाह्रो हुने, छाती घ्यार–घ्यार गर्ने वा राति खोकी लागिरहने समस्या देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ । औषधि सेवन गर्दा पनि लक्षण नियन्त्रणमा नआएमा वा श्वास फेर्न अत्यधिक कठिनाइ भएमा तत्काल अस्पताल जानुपर्छ ।