नेपाल सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा गत चैत १५ गते राजावादी समर्थक समूहद्वारा गरिएको आगजनी र तोडफोडबाट करिब २८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कम्पनीका अनुसार सञ्चो उत्पादन हुने भवन र ल्याब पूर्ण रूपमा नष्ट भएका छन् । कम्पनीकी महाप्रबन्धक संगीता यादवले प्रारम्भिक मूल्याङ्कन अनुसार क्षति करिब २८ करोड रुपैयाँको देखिएको बताउँदै अहिलेसम्मको सबैभन्दा ठूलो क्षतिको विवरण अझै अध्ययन भइरहेको जानकारी दिइन् । कम्पनीले आगजनीपछि केही दिनका लागि उत्पादन प्रभावित हुन सक्ने भए पनि अन्य शाखाहरूबाट सञ्चो उत्पादन तथा आपूर्ति नियमित रूपमा गर्ने योजना बनाएको छ । “हामी कमजोर होइनौं, यो संकटबाट अझै शक्तिशाली भएर उठ्नेछौं,” महाप्रबन्धक यादवको भनाइ छ ।
२०३८ सालमा स्थापना भएको यो कम्पनीले हाल देशभर शाखा विस्तारको तयारी गरिरहेको थियो। तर, आगजनी र तोडफोडको घटनापछि उक्त विस्तार कार्य केही समयका लागि स्थगित गरिएको यादवले बताइन् ।
कम्पनीले निकट भविष्यमा नयाँ उत्पादन ‘सञ्चो मह’ र ‘सञ्चो टिमुर’ बजारमा ल्याउने तयारी गरिरहेको समेत जानकारी दिइएको छ । यस्ता उत्पादनहरू जडीबुटीजन्य प्राकृतिक स्वास्थ्य उत्पादनहरूमा आधारित हुने बताइएको छ । कम्पनीले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
साथै, सरकार, निजी क्षेत्र र आम नागरिकको सहयोगमा पुनर्निर्माण र पुनःसंरचनामा जुट्ने प्रतिबद्धता व्यक्त गरेको छ ।