सिरहा नगरपालिका–१४ लच्काबाट लागूऔषध खैरौ (हेरोइन जस्तो देखिने पदार्थ) सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरू सिन्धुली दुधौली नगरपालिका–१० का २४ वर्षीय प्रबिन बुढाथोकी र २२ वर्षीय श्रवण कुमाल हुन् । शुक्रबार साँझ, भारतको जयनगरबाट सिरहातर्फ आउँदै गरेको बा.प्र.०२–०३२ प ५१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले शंका लागेपछि खानतलासी गर्दा २ ग्राम ५ सय मिलिग्राम लागूऔषध फेला पारेको थियो ।
पक्राउ परेकाहरूलाई प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। लागूऔषध खैरौ (हेरोइन जस्तो देखिने पदार्थ) सामान्यतया अत्यन्तै नशालु र गैरकानुनी रूपमा ओसारपसार हुने पदार्थमा पर्छ ।
प्रहरीका अनुसार उनीहरू लागूऔषध भारतबाट नेपाल ल्याएर बिक्री वितरण गर्ने समूहसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । हाल उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यसअघि पनि सिरहा जिल्लामा भारत सीमाबाट लागूऔषध ओसारपसारमा संलग्न विभिन्न गिरोहहरू सक्रिय रहेको र पटक–पटक पक्राउ परिरहने क्रम चलिरहेको प्रहरीले जनाएको छ ।