रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बलेरीको बागमती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, मृत्यु हुनेमा वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजा रहेका छन् । प्रहरीका अनुसार बागमती खोलाको अवैध उत्खननपछि बनेको खाडलमा पानी जमेको थियो ।
मंगलबार दिउँसो सोही खाडलमा नुहाउन गएका अर्जुन गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए। स्थानीयको प्रयासमा उनको शव फेला पारिएको हो ।
घटनास्थलको अवलोकन गर्दा खाडलको औसत गहिराइ पाँचदेखि छ फिटसम्म रहेको देखिएको छ । स्थानीयले अवैध बालुवा–गिट्टी उत्खननपछि बनिएको खाडलमा सुरक्षा व्यवस्थाको अभावले दुर्घटनाको जोखिम बढेको बताएका छन् । डुबेर गम्भीर घाइते भएका अर्जुनलाई उद्धार गरी अस्पताल पुर्याउने प्रयास गरिए पनि बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि रौतहटको विभिन्न खोलानालामा अवैध उत्खननपछि बनेका खाडलहरूमा डुबेर बालबालिका तथा युवाहरूको ज्यान जाने घटनाहरू दोहोरिँदै आएकोमा स्थानीय निकायको चासो नपुगेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।