सिरहामा बुधबार बिहान भएको भीषण मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
धनगढीमाई नगरपालिका–७ स्थित सडकखण्डमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी सुखीपुर नगरपालिका–८ का ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका–१२ का २८ वर्षीय सन्तोषकुमार यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र पासवानले जानकारी गराएका छन् ।
गम्भीर घाइते दुवै मोटरसाइकल चालककाे उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा ४४ प १५६१ नम्बरको मोटरसाइकल गोलबजारबाट कसाहातर्फ जाँदै गरेको र स ५ प ७७४० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको अवस्थामा सो दुर्घटना भएको हो ।
घटनामा गम्भीर घाइते भएका सिरहा नगरपालिका–१२ का २४ वर्षीय सिकेन्द्र यादवको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ । उनी हाल धनगढीमाई नगरपालिकाको मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा उपचाररत छन् ।
घटनापछि दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।