सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा अधिवेशनका क्रममा सप्तरीको विष्णुपुर गाउँपालिका–१ परसाहीमा विवादले उग्र रूप लिएपछि कुटाकुट भएको छ ।
बिहीबार अधिवेशनकै क्रममा उत्पन्न विवादले झडपको रूप लिँदा दुईजना घाइते भएका छन् । घटनामा समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादव र समाजवादी युवा संघ विष्णुपुर पालिकाका अध्यक्ष देवेन्द्र यादव घाइते भएका हुन् । दुवैजनाको टाउकोमा चोट लागेको छ र तत्कालै उपचारका लागि गजेन्द्र नारायण अस्पताल, राजविराज लगिएको जनाइएको छ ।
जसपा नेपालले गत चैत २६ गतेदेखि सप्तरी जिल्लाभर वडा र पालिका अधिवेशन संचालन गरिरहेको छ । उक्त अधिवेशन अन्तर्गत बिहीबार विष्णुपुर गाउँपालिकामा भएको कार्यक्रमकै क्रममा विवाद उत्पन्न भएको हो । पार्टीभित्रको आन्तरिक असमझदारीले झडपको स्थिति निम्तिएको बताइएको छ ।