रौतहट । रौतहटमा प्रहरीले विभिन्न स्थानबाट चोरीका पाँच थान मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका ईकाइहरूले चैत १५ देखि २९ गतेसम्म चलाएको चेकजाँच अभियानको क्रममा कागजातविहीन अवस्थामा रहेका मोटरसाइकलहरू फेला पारेका हुन् ।
प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार बरामद गरिएका ती मोटरसाइकलहरू विभिन्न ब्रान्डका छन् र तीको बजार मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको रहेको छ ।
बरामद मोटरसाइकलहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको प्रहरीले जनाएको छ । चोरीका मोटरसाइकल रोकथाम तथा नियमन गर्न यस्ता चेकजाँच अभियान निरन्तर सञ्चालन गरिने प्रहरीको भनाइ छ ।