बाराको फेटा गाउँपालिका–३ मा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका करिब १५ वर्षीय बालक आदित्य पासवानको घुँडाबाट गोली निकालिएको छ ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको घुँडामा लागेको गोली निकालेका हुन् । कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार रायसहितको चिकित्सकीय टोलीले शल्यक्रिया गरेको कलेजले जनाएको छ ।
थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट किशोरलाई काठमाडौं लगिएको छ। आइतबार बिहान ११ः३९ बजे वीरगञ्जबाट उडेको हेलिकप्टरले उनलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याएको हो ।
किशोरको उपचार तथा काठमाडौं स्थानान्तरणका लागि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा प्रशासनिक तथा चिकित्सकीय टोलीले आवश्यक समन्वय गरेको कलेजले जनाएको छ ।
हाल किशोरको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।