वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र जारी कर्फ्यु आदेश आज राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको छ । शनिबार साँझ दुई समुदायबीच भएको झडपपछि लगाइएको कर्फ्यु आइतबार दिउँसो १२ बजेसम्मका लागि तोकिएको भए पनि अवस्था अझै सामान्य नदेखिएको भन्दै प्रशासनले कर्फ्यु अवधि थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लागू गरिएको छ । उनले भने, “आज राति १२ बजेसम्म कर्फ्यु जारी रहनेछ, त्यसपछि अवस्था हेरेर थप निर्णय लिइनेछ ।” विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिबार अपराह्न ४ः५० बजे जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो । त्यसपछि स्थिति तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच राउन्ड अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी गरिएको थियो भने एउटा फ्रिज पनि पसलबाट निकालेर जलाइएको थियो । घटनास्थलमा खटिएका आठ जना प्रहरी घाइते भएका छन् । प्रशासनले नागरिकहरूलाई कर्फ्यु क्षेत्रभित्र घर बाहिर ननिस्कन र शान्ति सुरक्षामा सहयोग गर्न अनुरोध गरेको छ ।

