जनकपुरधाम । मधेस प्रदेश सरकारले जुड़ शितल (सिरुवा) पर्वको अवसरमा वैशाख २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै प्रदेशभित्र सार्वजनिक विदा लागू हुने जानकारी गराएको हो। २०८१ चैत २२ गते प्रकाशित राजपत्रअनुसार २०८२ सालको लागि निर्धारण गरिएका थप बिदाहरूमध्ये वैशाख २ गतेको विदा जुड़ शितल पर्वसँग सम्बन्धित हो । जुड़ शितल मधेसको परम्परागत र सांस्कृतिक महत्व बोकेको पर्व हो । प्रत्येक वर्ष बैशाख २ गते मधेसका विभिन्न जिल्लाहरूमा धुमधामसाथ यो पर्व मनाउने गरिन्छ ।
यस पर्वमा घरका जेठाज्येष्ठलाई जल छर्की आशीर्वाद लिने, आपसमा मेलमिलाप बढाउने, र हिलो खेल्ने चलन रहेको छ। सामूहिक सौहार्द, शुद्धता र नयाँ वर्षको स्वागतका रूपमा जुड़ शितलको सांस्कृतिक महत्व अत्यधिक मानिन्छ । प्रदेश सरकारले प्रदेशवासीलाई जुड़ शितल पर्वको शुभकामना दिँदै उक्त दिन सार्वजनिक विदा उपयोग गरी पर्वको महत्त्व र परम्परालाई संरक्षण गर्न आग्रह गरेको छ ।