वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको जुलुस लक्षित झडपपछि उत्पन्न भएको तनाव शान्त पार्न आइतबार सर्वपक्षीय सहमति जुटाएको २४ घण्टा नबित्दै पुनः विरोध र प्रदर्शन सुरु भएपछि स्थिति तनावपूर्ण बनेको छ ।
सोमबार दुवै समुदायका केही व्यक्तिहरुलाई पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय र घण्टाघर अगाडी विवाद चर्किँदा प्रहरीको लाठि चार्जबाट दुइ पत्रकार घाइते भएका छन् । एक पत्रकारको टाउको फुटेको छ भने अर्कोको खुट्टामा चोट लागेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो । तर पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय र घण्टाघर अगाडी प्रदर्शन गरिएको छ । प्रदर्शनको क्रममा स्थिति आक्रोशपूर्ण बन्दै गएपछि एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ताको टाउँको फुटेको छ ।
समाचार संकलनका लागि घटनास्थलमा पुगेका पत्रकार गुप्ताको टाउको फुटेको छ । भने, अर्का पत्रकार मध्य नेपाल मिडियाका अनिल ओझाको खुट्टामा चोट लागेको छ भने चन्द्रसुर्यवाणीका धिरेन्द्र तिवारीकाे चाेट लागेकाे अहिले तिनैजना पत्रकारको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भैरहेको छ ।
घटनापछि पत्रकार संगठनहरूले आक्रोश व्यक्त गर्दै पत्रकारमाथिको आक्रमण प्रेस स्वतन्त्रतामाथिको कुठाराघात भएको बताएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखा, प्रदेशका पदाधिकारीहरु अस्पताल पुगेका छन् ।
यसअघि शनिबार वीरगञ्जको घण्टाघरबाट सुरु भएको हनुमान जयन्तीको जुलुस छपकैयामा पुग्दा दुई समुदायबीच झडप भएको थियो । यसबारे प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको भए पनि स्थिति नियन्त्रणमा ल्याउन सुरक्षा सतर्कता बढाइएको छ ।