युथ कांग्रेस नेपालका केन्द्रीय महामन्त्री पदमा सर्लाहीका युवा नेता प्रभात ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।
२०८२ साल बैशाख २ गते सम्पन्न अधिवेशनबाट ठाकुरलाई निर्विरोध चयन गरिएको निर्वाचन समितिले जानकारी गराएको छ । ठाकुरसँगै सहमहामन्त्रीमा खुश्बु अस्मिता बयलकोटी र कोषाध्यक्षमा विराज अर्याल निर्वाचित भएका छन् । निर्वाचन प्रक्रियामा अन्य कुनै उम्मेदवारी नपरेपछि उनीहरूलाई निर्वाचन समितिले नियमअनुसार निर्विरोध घोषणा गरेको हो ।
नवनिर्वाचित पदाधिकारीहरूले संगठनलाई थप सक्रिय, प्रभावकारी र युवा आवाजको प्रतिनिधि संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महामन्त्री ठाकुरले समाज परिवर्तनमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आफू नेतृत्वमा आएको संगठनले अब युवाको आवाजलाई अझ बुलन्द बनाउने र सामाजिक रूपान्तरणमा योगदान दिने कार्यमा केन्द्रित हुने बताएका छन् ।
उनका अनुसार युथ कांग्रेस अब गाउँ–गाउँमा युवाको आवाज बनाउँदै सशक्त संगठन निर्माणमा जुट्नेछ । ठाकुर सर्लाही जिल्लामा सक्रिय युवा अभियन्ताका रूपमा परिचित छन् ।
विगत केही वर्षदेखि उनी पार्टी संगठन, विद्यार्थी राजनीति तथा सामाजिक अभियानमा सक्रिय थिए । युवा नेतृत्वमा उनीप्रति आशा र विश्वास गरिएको छ ।
युथ कांग्रेस नेपालको केन्द्रीय अधिवेशनले संगठनभित्र आन्तरिक लोकतन्त्रलाई स्थापित गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।