जनकपुरधाम | यौन दुराचारको मुद्दामा जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएका रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ ।
बम्जनलाई गत चैत ६ गते उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।
दोषी ठहर भएपछि महोत्तरी कारागारमा कैद सजाय भोगिरहेका बम्जन उच्च अदालतको आदेशपछि रिहा भएका हुन् । बम्जनमाथि आफ्नै आश्रममा यौन सन्तुष्टि लिने र बाल यौन शोषण गरेको अभियोग थियो। जिल्ला अदालत सर्लाहीले २०८१ साल असारमा उनलाई १० वर्ष कैद सजाय र पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला गरेको थियो ।
२०७९ पुस २४ गते काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ परेका बम्जनको घरबाट प्रहरीले १५ देशका विदेशी मुद्रासमेत बरामद गरेको थियो। ती मुद्राको नेपाली मूल्य करिब ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर रहेको थियो ।
बम्जनले आफूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउँदै आएका थिए। उनका विरुद्ध विभिन्न समयमा यौन शोषण र दुराचारका आरोपहरू लाग्दै आएका छन् ।