वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको दुई समुदायबीचको झडपपछि लागू गरिएको निषेधाज्ञा शुक्रबार बिहान ७ बजेदेखि हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार निषेधाज्ञा हटाउने निर्णय लिएको हो। निषेधाज्ञा वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा लागू गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले पछिल्लो समय शहरमा शान्तिपूर्ण वातावरण कायम हुँदै गएको उल्लेख गर्दै सबै समुदायलाई सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। उनका अनुसार सर्वपक्षीय छलफलबाट सकारात्मक सन्देश प्राप्त भएकाले निषेधाज्ञा हटाउने निर्णय गरिएको हो ।
गत चैत ३० गते हनुमान जयन्तीको शोभा यात्राका क्रममा छपकैया क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। "जय श्रीराम" लेखिएको झन्डा खोस्ने प्रयास र इदगाह चोकमा ढुंगामुढा प्रहारबाट सुरु भएको विवाद उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १४५ राउन्ड अश्रुग्यास र दुई राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो। सो झडपमा कम्तीमा ४३ जना घाइते भएका थिए ।
प्रशासनले अब शान्ति र सद्भाव कायम रहोस् भन्ने उद्देश्यले निषेधाज्ञा हटाएको जनाएको छ ।