काठमाडौँ | यही वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचना ‘फेक न्यूज’ भएको पुष्टि भएको छ । शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा एक ‘सूचना’ व्यापक रूपमा प्रसारित भइरहेको छ ।
उक्त ‘सूचना’ राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा तयार पारिएको देखिए पनि यो आधिकारिक नभएको बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले स्पष्ट पारेका छन् । उनले दृष्टि न्यूजसँग कुरा गर्दै भने, “सामाजिक सञ्जालमा फैलिएको सूचना फेक हो, परीक्षा स्थगनको कुनै निर्णय भएको छैन। हामी परीक्षा तयारीमा जुटिरहेका छौँ।”
शुक्रबार सार्वजनिक गरिएको सो भनिएको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको उल्लेख गरिएको थियो । तर बोर्डका अधिकारीहरूले यसलाई भ्रमपूर्ण र गलत बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले यस प्रकारका फेक सूचनाबाट सावधान रहन र आधिकारिक जानकारी मात्र विश्वास गर्न विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई अनुरोध गरेको छ ।