दाङ | दाङको लमही–कोइलाबास सडकखण्डअन्तर्गत गढवा गाउँपालिका–५ चिसापानीमा शुक्रबार दिउँसो भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
भारतको लखनउबाट पोखरातर्फ जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको बस अनियन्त्रित भई चिसापानीको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। दुर्घटनाको बेला बसमा २५ जना यात्रु सवार थिए ।
प्रहरीका अनुसार दुर्घटनामा परेका सबै घाइते भारतीय नागरिक हुन्। घाइतेहरूको तत्काल उद्धार गरी लमही अस्पतालमा उपचारका लागि लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण र बस चालकको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।