पर्सा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५५ जना प्रतिवादीलाई एक महिनाको अवधिमा पक्राउ गरेको छ ।
२०७८ चैत १ गतेदेखि २०७८ चैत ३१ गतेसम्मको अवधिमा फरार रहेका ती व्यक्तिहरूलाई प्रहरीले विशेष निगरानी, सूचनाको आधार, र गुप्त अभियानमार्फत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टले जानकारी दिएका छन् ।
फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीहरू लुकीछिपी बसिरहेको सूचनाका आधारमा पत्ता लगाइ नियन्त्रणमा लिइएको डिएसपी भट्टले बताए । पक्राउ परेकाहरू बलात्कार, चोरी, ठगी, कुटपिट, अवैध हतियार, लागुऔषध कारोबार जस्ता विभिन्न आपराधिक मुद्दामा संलग्न रहेकाहरू भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पुर्याई जिल्ला अदालत पर्साको जिम्मा लगाइएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आगामी दिनमा समेत फरार प्रतिवादी विरुद्ध निगरानी र खोजी अभियानलाई अझ तीव्र बनाएको जनाएकाे छ ।