जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ललितपुरको अनुरोधमा सप्तरीको राजविराजबाट उनलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । एसपी खतिवडाका अनुसार यादवमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा ललितपुर प्रहरीमा जाहेरी दर्ता भएको हो ।
उक्त उजुरीको अनुसन्धानका लागि उनलाई ललितपुर पठाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ । ललितपुर प्रहरी परिसरका स्रोतका अनुसार यादवमाथि आर्थिक कारोबारका क्रममा ठगी गरेको र विश्वासघात गरेको अभियोग लागेको हो ।
उजुरी परेपछि प्रारम्भिक अनुसन्धानका क्रममा उनलाई पक्राउ गरि थप अनुसन्धानका लागि ललितपुर ल्याउने तयारी गरिएको छ । जनमत पार्टीको तर्फबाट यसबारे औपचारिक धारणा सार्वजनिक भइनसकेको भए पनि पार्टीको शीर्ष तहमा यस घटनाले तरंग ल्याएको देखिएको छ ।
पार्टीका अन्य पदाधिकारीहरूलाई पनि प्रहरीको निगरानीमा राखेर छानबिन अघि बढाउने तयारी रहेको प्रहरी स्रोतको दाबी छ । यस घटनाले मुलुकको राजनीतिमा आर्थिक पारदर्शिताका सवालमा उठ्दै आएका प्रश्नहरूलाई पुनः सतहमा ल्याएको छ ।
यस्तै मुद्दामा संलग्न राजनीतिक व्यक्तिहरूको भूमिकालाई लिएर सार्वजनिक चासो पनि बढ्दै गएको छ ।