काठमाडौं | अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि आवेदन माग गरेको छ ।
एन्फाले जारी गरेको सूचनामा मुख्य प्रशिक्षक बन्नका लागि ‘प्रो लाइसेन्स’ अनिवार्य गरिएको छ। साथै, आवेदकले सिनियर महिला टोली वा उमेर समूहको व्यावसायिक फुटबलमा कम्तीमा दुई वर्षको प्रशिक्षण अनुभव रहेको हुनुपर्नेछ । हाल नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षण राजेन्द्र तामाङले सम्हाल्दै आएका छन् ।
यससँगै एन्फाले पर्फमेन्स एनालिस्टको पदका लागि पनि आवेदन आह्वान गरेको छ । यो पदका लागि आवेदकले मान्यताप्राप्त संस्थाबाट लेभल–वान फुटबलमा फिटनेस कोर्स पूरा गरेको र डेटा एनालिस्टको प्रमाणपत्र प्राप्त गरी कम्तीमा एक वर्षको काम अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
एन्फाले योग्य र सक्षम व्यक्तिहरूको सहभागिताको अपेक्षा राखेको जनाएको छ ।