सप्तरी | मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सोमबार सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा छायांकन तथा सम्पादनसम्बन्धी पाँच दिने कार्यशालाको उद्घाटन गरेका छन्।
मधेश सरकारको चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड, जनकपुरधामको चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रमअनुसार आयोजना गरिएको कार्यशालाको उद्देश्य चलचित्रकर्मीहरू तथा भिडियोग्राफीमा रुचि राख्ने व्यक्तिहरूको दक्षता अभिवृद्धि गर्नु रहेको मन्त्री लेखीले जानकारी दिए।
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डका कार्यबाहक अध्यक्ष अशोक दत्तको अध्यक्षता र मन्त्री लेखीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सप्तकोशी नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष रोहिणी पोखरेल, थारु संस्कृति संघ नेपालका अध्यक्ष गयानन्द चौधरीलगायतको सहभागिता रहेको थियो।
कार्यशालामा सप्तकोशी नगरपालिकाका २५ जना युवाको सहभागिता रहेको छ। तालिम प्रशिक्षकमा अरुण कुमार साह र सुर्यनारायण साह रहेका छन्। कार्यशाला पाँच दिनसम्म सञ्चालन हुनेछ।