वीरगंज | जनमत पार्टीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा पर्सा जिल्लासम्बन्धी विभिन्न योजनाहरू समावेश गर्न माग गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा वीरगंजको अलपत्र अवस्थामा रहेको नारायणी रंगशालाको पुनर्निर्माण, नारायणी अस्पतालको भौतिक पूर्वाधार विस्तार, सिर्सिया नदीको संरक्षण तथा कोरिडोरका रूपमा विकास, वीरगन्ज कृषि औजार सञ्चालनमा विशेष प्राथमिकता दिँदै आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ ।
त्यसैगरी, ठोरीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न, जनता सडक निर्माण, किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन र सिँचाइका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने जनमत पार्टीको माग छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा अध्यक्ष सर्राफसँगै केन्द्रीय सदस्यहरू विद्यालाल प्रसाद, रम्भा मिश्रा, नजमा खातुन, नेताहरू महादेव शर्मा, बृजेश्वरप्रसाद चौधरी, सञ्जय सिंह, अञ्जना गुप्ता, राजुराज गिरी, लोकेश कर्ण, सञ्जय सर्राफ, कृष्ण कुशवाहा, मनोज साह, अभिषेक झा, आजाद अन्सारी, धिरेन्द्र पञ्जियार, सिकेन्द्र राम, हिरालाल राम र भुवन गिरीलगायतको सहभागिता थियो ।
जनमत पार्टीले संघीय सरकारको ध्यान पर्सा जिल्लाको समग्र विकासमा केन्द्रित गराउन आग्रह गर्दै, सोअनुसार बजेटमा समावेश गरिनुपर्ने आवश्यकता औंल्याएको छ ।