सिरहा | सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेर काममा खटाएको हो । राइन आजदेखि कार्यमा हाजिर भएका छन् ।
यसअघि, नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई गत माघ महिनामा आर्थिक तथा प्रशासनिक जिम्मेवारी खोसिएपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्था रहेको थियो । यस कारण कार्यालयको दैनिक कामकाज प्रभावित भएको थियो ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत मोहम्मद इद्रिस राइनको स्वागत कार्यक्रममा नगर प्रमुख डा. नवीनकुमार यादवले चादर ओढाएर डायरी र कलम दिँदै राइनलाई स्वागत गरेका थिए। यादवले राइनलाई नगरपालिकाको हरेक गतिविधि जनताको पक्षमा गर्न निर्देशन दिएका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राइनले जनमैत्री सेवा प्रवाह गर्न आफूले पूर्ण भूमिका निर्वाह गर्ने र मातहतका कर्मचारीलाई सकारात्मक सहयोग गर्न आग्रह गरे ।
लामो समय प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नहुँदा नगरपालिकाको चालु आर्थिक वर्षको योजनासमेत सञ्चालनमा अवरोध आएको थियो। जसका कारण सेवाग्राहीलाई समस्या भएको थियो भने, सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम वितरणमा पनि ढिलाइ भएको थियो ।