काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा–१२ को परीक्षामा शिक्षक र कर्मचारीहरू सहभागी नहुने स्पष्ट पारेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी तथा सुरक्षाकर्मीहरूको सहायतामा परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि महासंघले सो निर्णयको विरोध गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले परीक्षा निजामती कर्मचारीले सञ्चालन गर्ने हो भने उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पनि उनीहरूकै हुने बताए ।
अध्यक्ष सुवेदीले भने, “राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेर परीक्षा चलाउने भनेको रहेछ, त्यो उसको कुरा हो । शिक्षक, कर्मचारी र प्रधानाध्यापकहरू त्यो प्रक्रियामा सहभागी हुने छैनन् । हामी हार्दिक अनुरोध गर्दछौँ—कापी पनि उनीहरूले नै परीक्षण गरून्, परीक्षा पनि उनीहरूले नै चलाऊन्, हामी हेर्छौँ ।”
शिक्षक र कर्मचारीहरू चैत २० गतेदेखि शिक्षा विधेयक पारित गर्नुपर्ने मागसहित काठमाडौंमा निरन्तर आन्दोलनरत छन् ।
राष्ट्रिय परीक्षा बोर्डको तयारी अनुसार कक्षा–१२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि देशभर सञ्चालन हुँदैछ । यस परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् ।