वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी गाउँको गादी खोलामा कज्वे पुल निर्माण कार्य सुरु गरिएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश चौधरीले पुलको शिलान्यास गरेका छन्। अध्यक्ष चौधरीका अनुसार २० लाख रुपैयाँको लागतमा कज्वे पुल निर्माण थालिएको हो । निर्माण कम्पनीसँग बैशाख महिनाभित्रै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिएको छ ।
गादी खोलामा कज्वे पुल नहुनाले वर्षायाममा बाढीका कारण चाफी गाउँको आवागमन बन्द हुने समस्या थियो । अब पुल बनेपछि सो समस्या समाधान हुने उपाध्यक्ष ममता महत्तोले जानकारी दिइन् । उनका अनुसार यो पुलबाट चाफी गाउँका दुई हजारभन्दा बढी स्थानीयवासी लाभान्वित हुनेछन् ।
शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महत्तो, वडा नं. २ का अध्यक्ष विजय गैरे, वडा नं. ३ का अध्यक्ष महादेव राउत, गाउँका अगुवा र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।