मधेस विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले वीरगंजलाई आधुनिक, शिक्षित र समृद्ध सहरको रूपमा विकास गर्ने ठूला योजनाहरु सार्वजनिक गरेका छन् ।
उनले वीरगञ्जको भौगोलिक, ऐतिहासिक र सम्भाव्यताको भरपूर उपयोग गर्दै यसलाई ‘वैभव वीरगंज’ बनाउने सपना प्रस्तुत गरेका हुन्।
उनले प्रस्तुत गरेका मुख्य योजनाहरु यस प्रकार छन् :


- नारायणी अस्पताललाई पाँच सय बेड क्षमताको आधुनिक टिचिङ तथा रिसर्च हस्पिटलमा रुपान्तरण गर्दै एमबीबीएस, नर्सिङ र पारा मेडिकल कलेज सञ्चालन गर्ने ।
- ठाकुरराम बहुमुखी क्याम्पसलाई गुणस्तरीय शिक्षक उत्पादन गर्ने व्यवस्थापन, विज्ञान, प्रविधि तथा शिक्षा विधाका उत्कृष्ट कलेजमा विकास गर्ने ।
- नारायणी रंगशालालाई आधुनिक बनाउँदै नेपालकै पहिलो स्पोर्ट्स कलेज सञ्चालन गर्ने ।
- वीरगंज चिनी मिललाई मधेस विश्वविद्यालयअन्तर्गत सिपमूलक शिक्षा दिने स्किल स्कूलमा रुपान्तरण गर्ने ।
- कृषि औजार कारखानालाई कृषि अनुसन्धान केन्द्रमा परिणत गर्ने ।
- वि.पी. तथा शहीद उद्यानलाई व्यापार प्रदर्शनी स्थलका रूपमा विकास गर्ने ।
- नेपालकै ठूलो ‘मधेश कृषि बजार’ वीरगञ्जको २० देखि ३२ वडाभित्र स्थापना गर्ने ।
- रामवनमा चिडियाखाना र वनस्पति उद्यान (Botanical Garden) सँगै विकास गर्ने ।
- सिर्सिया कोरिडोरलाई बागमती कोरिडोरको जस्तो भव्य बनाउने ।
- वीरगंज महानगरभित्र रहेका बाँझो ऐलानी वा गुठी जग्गामा सामुदायिक कृषि विकास कार्यक्रम सञ्चालन गर्ने ।
- वीरगंज नाकालाई ‘परिवहन नगरी’को रूपमा विकास गर्दै चलायमान बनाउने ।
- वीरगंजबाट धार्मिक सर्किटको विकास गर्दै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउने ।
- वीरगंजलाई नारामा मात्र नभई कानुनी तथा व्यवसायिक रूपमा देशकै ‘वित्तीय राजधानी’ बनाउने ।
- बारा र पर्साका प्रमुख क्षेत्रहरू समेट्दै ‘ग्रेटर वीरगंज’ को अवधारणा अनुसार समन्वय गरी विकास गर्ने ।
डा. शाक्य भन्छन्, “यो सपना ठूलो छ तर असम्भव होइन । सबै राजनीतिक दल, नागरिक अगुवा, बुद्धिजीवी, व्यवसायी, पत्रकारज्यूहरुले आ-आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठी ‘वीरगंज फर्स्ट’ का लागि एक भएर लाग्न सके, वीरगंज समृद्धिको दिशामा अग्रसर हुनेछ ।”
उनको यो योजनाले वीरगंजलाई राष्ट्रिय स्तरमै एक उदाहरणीय सहरमा बदल्न सक्ने सम्भावना राखेका छन् ।