महोत्तरीको मनरा सिसवा नगरपालिका–१ स्थित महादेव मन्दिरको पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृतकहरूमा स्थानीय बासिन्दा विकेशकुमार सिंहका १२ वर्षीय छोरा शुभमकुमार सिंह र मावली आएका ११ वर्षीय आयुष उर्फ आदित्य सिंह रहेका छन् । आयुष सप्तरीको डाक्नेश्वर नगरपालिका–९ लखनपट्टी निवासी रुपेश सिंहका छोरा हुन् ।
उनी मावली पक्षकोमा आएको बेला शुभमसँगै पोखरीमा नुहाउन गएका थिए ।
सोमबार साँझ घरबाट निस्किएका बालकहरू रातिसम्म पनि घर नफर्किएपछि परिवारजनले खोजतलास सुरु गरेका थिए । खोजीको क्रममा महादेव मन्दिर नजिकको पोखरीको किनारमा उनीहरूको कपडा र चप्पल भेटिएपछि आशंका बढेको थियो ।
त्यसपछि पोखरीमै खोज्दा दुवै बालकको शव तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।