सिन्धुली । खानेपानी, सरसफाइ तथा ढल निकासमन्त्री प्रदीप यादवले अब शुद्ध खानेपानी आम नागरिकको सपना मात्र नभई व्यवहारिक हक बन्ने बताएका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् । उनले दुर्गम गाउँदेखि सहरसम्म स्वच्छ खानेपानी सेवा पुर्याउने दीर्घकालीन योजना सरकारले अघि सारेको जानकारी दिए ।
मन्त्री यादवले संघीय सरकार, स्थानीय निकाय र जनताको सहकार्यमा विकास योजनाहरू सफल भइरहेका बताउँदै नाङ्गेडाँडा खानेपानी योजनालाई त्यस्तो नै एक उदाहरणका रूपमा उल्लेख गरे ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार उक्त आयोजनाको लागत ३७ करोड ९४ लाख ९० हजार ५२४ पुगेको छ भने लक्ष्य अनुसार विसं २०८१ असार ८ गतेभित्र कार्य सम्पन्न हुने जनाइएको छ ।
संघीय आयोजना प्रमुख इञ्जिनियर हेराकाजी मर्हजनले नाङ्गेडाँडा आयोजना अन्तर्गत दुई हजार ५३५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने र प्रत्येक परिवारमा शुद्ध पानी पुग्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वडाध्यक्षहरू तथा विभिन्न दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।