काठमाडौं | विद्यालय कर्मचारी परिषद्ले आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारीले पत्रकार सम्मेलनमार्फत आन्दोलन वैशाख २१ गतेदेखि सुरु हुने जानकारी दिएका हुन् ।
उनका अनुसार २१ गते कक्षा १२ को परीक्षामा कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने छन् । परिषद्ले विद्यालय कर्मचारी, राहत शिक्षक तथा बाल विकास शिक्षकहरूलाई नेपाल शिक्षक महासंघले बेवास्ता गरेको आरोप लगाएको छ ।
सरकार र शिक्षक महासंघबीच हालै सम्पन्न ९ बुँदे सहमतिपछि शिक्षकहरू आन्दोलन स्थगन गरी विद्यालय फर्किएका छन् । तर, परिषद्ले उक्त सहमति कर्मचारीको मुद्दा सम्बोधन नगरी गरिएको भन्दै असन्तुष्टि जनाएको हो ।
शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौंमा आन्दोलनमा थिए। परिषद्ले अबको आन्दोलन शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गर्ने मुख्य उद्देश्यसहित सञ्चालन हुने स्पष्ट पारेको छ ।