बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित शान्ति टोलको खेलमैदानमा जेठ १ गतेदेखि व्यापारिक तथा सांस्कृतिक महोत्सव २०८२ सुरु हुने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत वडाध्यक्ष सुनिल गुप्ताले महोत्सवको औपचारिक सुरुआत जेठ १ गतेबाट हुने जानकारी दिएका हुन् ।
द लिड इन्टरटेन्मेन्टको आयोजनामा बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म महोत्सव सञ्चालनको अनुमति लिए पनि प्रमुख सांस्कृतिक कार्यक्रमहरूको औपचारिक शुरुआत जेठ १ गतेबाट हुनेछ । मौसमजन्य प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै महोत्सवको अवधि आवश्यकतानुसार छोट्याउन सकिने आयोजक संस्थाले जनाएको छ ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष गुप्ताले जीतपुर व्यवसायका लागि सुरक्षित र सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै विगतमा उपमहानगरको केन्द्र भए पनि महोत्सवहरू अन्यत्र केन्द्रित भएकोमा चिन्ता व्यक्त गरे । उनले भने, "हामी जीतपुरलाई व्यापारिक र सांस्कृतिक गतिविधिको केन्द्र बनाउने दिशामा लागेका छौं ।"
महोत्सवमा वडा कार्यालयको सहकार्यकारी भूमिका रहने जानकारी दिँदै गुप्ताले महोत्सवमार्फत स्थानीय उत्पादन, व्यवसाय र कलाकारिताको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवमा भारतका चर्चित भोजपुरी कलाकार खेसारीलाल यादव प्रमुख आकर्षण हुनेछन् । नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजक संस्था द लिड इन्टरटेन्मेन्टका सञ्चालक बिमल खड्गीले बताए ।
उनका अनुसार महोत्सवमा बालबालिकाका लागि बाल उद्यान, रोटेपिङ, सर्कसजस्ता मनोरञ्जनका सामग्री, विभिन्न प्रकारका व्यापारिक स्टलहरू, घरेलु उत्पादन, हस्तकला, कृषि तथा लघुउद्योगका सामाग्रीहरूको प्रदर्शनी तथा बिक्री समेत हुनेछन् ।
महोत्सवले केवल मनोरञ्जन मात्र नभई स्थानीय उत्पादन तथा सीपको प्रदर्शनका साथै सांस्कृतिक पहिचान उजागर गर्न मद्दत गर्ने आयोजकको भनाइ छ। महोत्सवमा सुरक्षादेखि स्वास्थ्य र आपतकालीन व्यवस्था समेतको तयारी गरिएको जानकारी पनि दिइएको छ ।