हेटौँडा | शुक्रवार हेटौँडामा सडक भासिएर गाडी बेपत्ता भएको स्थानको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको ४ सदस्यीय टोली घटनास्थल पुगेको छ । टोलीमा भूगर्भविद् नारायण अविकारी, कृष्ण पाण्डे, मणि खनाल र स्याम्प्लर अमर थापा छन् ।
गत शुक्रवार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको माछा बोक्ने बलेरो भ्यान हराएको थियो । गाडी चालक हरेराम राईका अनुसार सडक अचानक हल्लिएपछि उनी गाडीबाट निस्किएका थिए र केही क्षणमै गाडी पूर्ण रूपमा जमिनमुनि हराएको थियो ।
गाडी हराएको चार दिन बितिसक्दा पनि अझै अत्तोपत्तो लागेको छैन । सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिहरूले खोजी गरे पनि गाडी फेला परेको छैन । सडक भासिएको ठाउँमा अहिले ठूलो दह बनेको छ ।
स्थानीयका अनुसार घटनास्थलमा पहिले बोरिङका लागि खनिएको खाल्डो थियो जसलाई समयमै व्यवस्थापन नगरी छाडिएकाले यसले दुर्घटना निम्त्याएको हो । सो क्षेत्रमा यसअघि पनि यस्ता घटनाहरू दोहोरिएको जनाइएको छ ।
उपमहानगरले भूगर्भविद् बोलाएर घटनाको वैज्ञानिक अध्ययन सुरु गरेको छ ।