रूपन्देही । शुद्धोधन गाउँपालिका–४ फर्साटिकरस्थित लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा बिहीबार बिहान एक्कासी आगलागी भएको छ । लु १ क १३२६ नम्बरको उक्त बस विद्यालय नजिकै पुगेकै बेला आगो लागेको हो ।
बसमा विद्यार्थी खचाखच भरिएका थिए । यद्यपि, स्थानीयवासी, प्रहरी र दमकलको सक्रियतामा समयमै आगो नियन्त्रणमा लिन सकिएको हुँदा कुनै पनि विद्यार्थी वा चालकलाई क्षति नभएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
विद्यालय प्रशासनले बसको इन्जिन प्रणालीमा समस्या आएर आगलागी भएको आशंका गरिएको जनाएको छ । यद्यपि, घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।