पर्सा | पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा भीषण आगलागी हुँदा तीन परिवारको घरगाेठ जलेर नष्ट भएको छ ।
पर्सा प्रहरीका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय तुलसी राउत अहिरको घरबाट विद्युत सर्ट भएर सुरु भएको आगो, तीव्र गतिमा फैलिँदा तुलसी राउतसहित महिन्द्र यादव र नन्दु रामको घर र भण्डारण गरिएको अन्न जलेको हो ।
स्थानीयका अनुसार तुलसी राउत अहिरको फुसको घर, अगाडि थन्क्याइएको धानको भकारी र भैंसी बाँध्ने थलो पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीमा परी एक भैंसीको छाला जलेर घाइते भएको छ । उनकाे करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यसैगरी, महिन्द्र यादवको फुसको घर र एक थान धानको भकारी जलेर नष्ट भएकाे छ । उनकाे करिब १ लाख ५० हजार रुपैयाँ बराबरको र नन्दु रामको एक थान धानको भकारी जलेर ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ ।
आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र वीरगञ्जबाट खटिएको दमकल टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।