वीरगंज । वीरगंज महानगरपालिका–८ को सहयोगमा स्वरोजगार व्यवसायिक तालिम केन्द्र, वीरगंज–११ पर्साद्वारा सञ्चालित ४५ दिने एडभान्स ब्युटीसियन तालिम कार्यक्रमको समापन एक विशेष समारोहबीच सम्पन्न भएको छ ।
समापन कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशिक्षार्थीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
समारोहको अध्यक्षता वडा नं. ८ का वडा अध्यक्ष रितेश कुमार गुप्ताले गरेका थिए । उनले सिपमूलक तालिमहरू स्वदेशमै रोजगारीको अवसर सृजना गर्न अपरिहार्य रहेको बताए । ‘‘सिप र स्वरोजगारको माध्यमबाट आत्मनिर्भर समाज निर्माण गर्न यस्ता तालिम कार्यक्रमहरू महत्वपूर्ण छन्,’’ उनले भने, ‘‘हामी वडाबाट यसलाई प्राथमिकतामा राखी निरन्तर अगाडि बढिरहेका छौँ ।’’
प्रशिक्षार्थीहरूले तालिमबाट व्यवसाय सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्राप्त भएको प्रतिक्रिया दिएका छन् । तालिमले उनीहरूलाई स्वरोजगारका क्षेत्रमा लाग्न थप प्रेरणा दिएको उनीहरूको भनाइ थियो ।